लघुकथा
कृष्ण बजगाईं
पहिलेका मानिसहरु आफ्ना एक कुरा आपसमा बुझाउन इशाराले काम चलाउँदथे । आफ्ना कुरा हरसम्भव विभिन्न उपाय निकालेर सम्झाउँदथे । नबुझे लाठी भाला खुँडा खुर्पा तरवार आदि प्रयोग गर्दथे । अर्को पक्षले बुझे नभनेसम्म ती सामाग्री सक्रियरुपमा संचालित हुन्थे तिनीहरु उपर ।
अलिपछि मानवले धेरै कुरा विकाश गरे । भाषालाई झन परिष्कृत र सरल पारे । तर पनि उनीहरु भाषा हुँदाहुँदै आफ्ना कुरा बुझाउन गोली तथा बारुद प्रयोग गर्न थाले । साचारको भाषा प्रयोग नगरेर बन्दुकको भाषा बोल्न थाले । त्यो बन्दुकको भाषा अरुले बुझे भन्ने भ्रम पालेर बस्दथे बन्दुकेहरु ।
मानिसको जनसंख्या बढे सँगसँगै अझ धेरै भाषाको प्रयोग हुन थाल्यो । त्यसपछि सबै आ-आफ्नै भाषामा कुरा बुझाउन अड्डी लिन थाले । अरुका भाषा बुझेर पनि बुझ पचाउन थालेपछि भाषा विवाद बढेर चरमोत्कर्षणमा पुग्यो । अब के गर्ने सबै चिन्तित बने ।
सबैको रायले यो समस्यालाई जनताको सर्वोच्च निकाय संसदबाट खोज्ने भनियो । संसदमा यो विषयले के प्रवेश गरेको थियो कुनै चिज सध्ये रहेन । भाषा प्रेमीहरुको न हुलिया ठिक रह्यो न संसद भित्रका सरसमान । यस्तो विचित्रको दृष्य देखेर सभामुख महोदय चिन्तित बने ।
गम्भीर सोंचपछि पछि उनले एक उपाय निकाले । अबदेखि संसदमा महत्वपूर्ण विषयको छलफल सबैले बुझने भाषामा गर्ने प्रस्ताव राखे । यसो भन्नासाथ सबै राजी भए । त्यसपछि कुनै महत्वपूर्ण निर्णय गर्नु पर्दा सबै नेताहरु आवश्यकता अनुसार कानेखुशी वा इशाराले सङ्केत गर्दै बोल्थे । उक्त साङ्केतिक भाषा सबै नेताहरुले बुझ्यौं- बुझ्यौं भनेर थपडी बजाउँदै टाउको हल्लाउँदथे । तर नेताहरुको साङ्केतिक भाषा नबुझेर जनता चाहीं वर्षौंदेखि अलमल्ल परिरहेछन् ।
साभारः अभिव्यक्ति द्धैमासिक , काठमाण्डौं
लघुकथा
कृष्ण वजगाईं
कोट, पाईण्ट, र्सट तथा टाइमा ठाँटिएका क्रान्तिकारी नेता पाँचतारे होटेलको सभा कक्षमा चुनावी घोषणापत्र सुनाउँदै थिए ।
-दश वर्षा हाम्रो वाषिर्क आय तीनहजार अमेरिकी डलर पुर्याउनेछौं ।
-देश निर्माणका महत्वपूर्ण आयोजनाहरुमा विदेशी लगानी भित्र्याउनेछौं ।
-वीस वर्षभत्र हाम्रो जीवनस्तर युरोपेली र अमेरिकी मापदण्डमा पुर्याउनेछौं……।
साँझको टेलिभिजनमा प्रमुखताका साथ उक्त समाचार प्रशारण भयो । सो पत्रकार सम्मेलन सारा देशवासी कै चर्चाको विषय बन्यो ।
गाउँलेहरु आफ्ना नेता ठूलो होटेलमा चमकधमकका सात उपस्थित भएको देख्दा छक्क परे । उक्त सम्मेलन किन गाउँले झोपडिमा गरिएन ? नेताहरु किन हामीले लगाउने जस्तो पहिरनमा लगाएनन् ? पहिले त यस्तो हुँदैनथ्यो । गाउँले जनताले शंका व्यक्त गरे ।
हाम्रो वाषिर्क आय किन चीन, क्युवा तथा उत्तरकोरियाको मुद्रासँग तुलना गरिएन । किन हाम्रो जीवनस्तर चीन, क्युवा तथा उत्तरकोरियाको जस्तो बनाउने कुरा गरिएन ? उता पार्टीका कार्यकताहरुको मनमा आँधीबेरी चल्न थाल्यो ।
साभार: शब्द संयोजन,काठमाण्डौ
लघुकथा
कृष्ण बजगाईं
छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आफ्नो छापिएको छ कि भनेर धेरै मानिसहरू पढ्दथे ।
अर्का एकजना थिए कन्जुस लेखक । आफूलाई लेखनको मानक नै सम्झन्थे । आफ्नो लेखमा सकेसम्म सारै कम मानिसको नाम उल्लेख गर्दथे । आफूले लेखेमा मात्र नया देखि स्थापित लेखक, लेखकमा ठहरिन्छ भन्ने भ्रम पालेर बसेका थिए । कतै यस पटक आफ्नो तथा आफूले चिनेका नाम पो उल्लेख गरिदिए कि भनेर उनको लेख पनि पढ्थे मानिसहरू ।
यी विपरीत धु्रवका लेखक एक अर्कालाई लेखक नै ठान्दैन थिए । यिनीहरूको जुवारी बेलाबेलामा पढेर पाठकले टाउको दुखाउनु पर्दथ्यो । अचानक एक दिन भट्टी पसलको एउटै टेबलमा दुवैजनाले रक्सी पिएर बसेको देखियो । पाठक प्रतिक्रिया पठाएर नया रेकर्ड कायम राख्न लागेका एक पाठ पनि छेउकै टेबलमा थिए । उनलाई दुवै लेखकले आफ्नो फ्यान ठान्दथे । यिनीहरूको मित्रता देखेर उनी आश्चर्यचकित भए ।
त्यसको केही दिनपछि कन्जुस लेखकले आफ्नो लेखकहरूमा पटकपटक प्रसङ्ग मिलाएर भक्तिभाव प्रकट गर्दै छुल्याहा लेखकको नाम उल्लेख गर्न थाले । छुल्याहा लेखकले पनि कन्जुस लेखकलाई घोचपेच गर्न छाडे ।
आजकल पत्रिकामा लेखको स्तर खस्कियो भन्दै पाठक प्रतिक्रिया आउन थाल्यो । त्यसपछि सम्पादक चिन्तित बने ।
साभार: मधुपर्क
लघुकथा
कृष्ण बजगाईं
उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन ।
शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो ।
सुरक्षितसाथ जोगाएर राखेकि थिईन । आँखाले एक्स-रे गरेर हेर्यो सम्पूर्ण बनावटलाई । चुम्बन गर्यो अंग प्रत्यगंलाई आँखैले । अलिकति उत्तेजित भयो ऊ ।
उनको हिंडाईको चाल थाहा पाउन चाह्यो उसले । तालिम प्राप्त मोडेल झैं ऊ सुस्तरी हिंडी । उसले क्याट वाक् को मजा त्यहीं लियो रयाल काढ्यो ।
आज पनि नाटकको एक क्षेपण सकियो ।
बर्षौंदेखि यसरी नै त्यस युवतीलाई आफन्तकै अगाडि धेरैले नंग्याउँदै आए । कतै बिहे भै हाल्छ कि भन्ने आशामा यी सबै चुपचाप सहिरहेकि छे एक बुढीकन्या ।
साभारः रचना द्धैमासिक, काठमाण्डौ २०६५
- कृष्ण बजगाईं
लघुकथा
प्रमुख समाचार
- केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो ।
- शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो ।
- धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण गरेर गृहमन्त्री राजधानी फिर्ता ।
- राजधानीको एक पाकेटमार प्रहीको फन्दामा ।
- राजधानीको एक होटलमा छापा मार्दा बेश्याबृत्ति कार्यमा संलग्न भएको आशंकामा एक जोडी युवायुवती पक्राउ ।
स्थानीय समाचार
- दुर्गम पहाडी जिल्लाको विकटपुर गाउँमा खाद्यान्नको अभावमा भोकमरीले केटाकेटी सहीत केही बृद्धबृद्धाहरुको मृत्यु ।
- सुदुर पहाडी जिल्लामा कापीँकिताव किन्न नसकेर धेरै बालबालिका शिक्षाबाट बन्चित ।
- मुसलधारे वर्षाबाट तराईका धेरै जिल्ला प्रभावित । केही गाउँ पुरै डुबानमा । मानिसहरु ज्यान जोगाउन छाना बुईंगल रुख आदिमा बसीरहेका ।
- तराईको गरिबपुर भन्ने ठाउँमा प्रहरी चौकी नजिकै सिंगै गाउँ डाकाद्धारा लुटपाट । घटनापछि प्रहरीद्धारा खोजपड्ताल जारी ।
- पश्चिम नेपालका यौन व्यावसाय गरेर जीविकोपार्जन गर्न बाध्य महिलाहरु सम्मानजनक रोजगारी दिन सरकारसंग माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ ।
साभार: शारदा मासिक २०६५
लघुकथा
-कृष्ण बजगाईं
भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए ।
मन्त्रीजी “अति पोषणयुक्त खानाबाट हुने मोटोपन र त्यसको रोकथाम” विषयक विदेशमा हुने गोष्ठिमा सहभागी हुन तारतम्य मिलाउँदै हुनुहुन्थ्यो । जीवनमा पहिलो भ्रमण त्यो पनि पश्चिमी मुलुकमा हुन लागेको थियो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा भ्रमण वापत पाईने आकर्षक भत्ताको लोभ उहाँमा स्पष्ट देखिन्थ्यो । मन्त्री भएपछि स्वयं मोटोपनको शिकार हुनु भएकोले कतै यसको उपचार उतै पो भैहाल्छ कि भन्ने अर्को आशा पनि थियो उहाँमा ।
भ्रमणको दिन नजिकै जाँदा आवश्यक रकम आदिको व्यवस्था नभएकोमा मन्त्रीजी रिसले धुँवा हुनुभयो । सम्वन्धित कर्मचारीलाई बोलाई रकम निकाशा गर्न कडा निर्देशन दिनु भयो ।
गोष्ठी व्यापारिक कम्पनिले आयोजना गरेको सहभागीले सबै खर्च आफै बेहोर्नु पर्ने हाम्रो देशमा यो प्रमुख समस्याको रुपमा नदेखिएको र अहिलेको अवस्थामा मन्त्रालयमा भ्रमण सेमिनार शिर्षकको वजेट पनि सकिएकोले यो भ्रमणको व्यवस्था गर्न सम्भव नभएको कुरा कर्मचारीले निर्धक्कसँग राखे ।
भ्रमण शिर्षकमा रकम नभए “कुपोषण निवारण” कार्यक्रमबाट बजेट रकमान्तरण गरेर भ्रमणको व्यवस्था मिलाउन कडा आदेश जारी गर्नु भयो । त्यस पछि निरीह कर्मचारीले सो आदेश शिरोपर गरे ।
केही दिनपछि मन्त्रीजी विदेश भ्रमण सकेर स्वदेश फर्कनु भयो । व्यापारिक कम्पनीले मोटोपन रोकथाम गर्न तयार पारेको सेम्पलका आठ-दश कार्टुन औषधी लिएर सिधै आफ्नो निर्वाचन क्षेत्र पुग्नुभयो ।
गरिबी र भोकमरीले पिडीत दुर्गम क्षेत्रका आफ्ना मतदाता भेला पारी विदेश यात्राको वर्णन सुनाउन थाल्नुभयो । त्यहाँ मन्त्रीजीले अति पोषणयुक्त खानाबाट हुने मोटोपन संभाव्य खतरा र त्यसको रोकथाम बारेमा व्याख्या गर्दै हुनुहुन्थ्यो । जनता भने चुनावमा वाचा गरे अनुसारै मन्त्रीजीले राहातको पोको ल्याएछन् भनेर दंग परे । त्यहाँ उपस्थित जनता मन्त्रीजीको भाषणमा भन्दा कार्टुन तिरै नजर लगाई रहेका थिए ।
भाषण पछि औषधी बाँड्ने कार्यक्रम सुरु भयो । मन्त्रीजीले सारङ्गी जस्ता पेट भएका भोका-नाङ्गा आफ्ना मतदातालाई मात्रै त्यो औषधी बाँड्न थाल्नु भयो । त्यो देखेर विपक्षी दलका कार्यकर्ताहरु वितरणमा पक्षपात भो भन्दै नाराबाजी गर्नथाले ।
साभारः युगआस्था काठमाण्डौं २०६४
लघुकथा
-कृष्ण बजगाईं
आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण अवस्था प्राचीन बहुमुल्य मूर्ति आदिको चोरी-चकारी चोरी गर्ने पापीहरुले सजाय नपाउनु शान्ति-सुरक्षाको अभाव जस्ता विषयमा गम्भिर छलफल गरी केही निर्णय गरे ।
- दान-दक्षिणा र भेटीको दर बढाउन भक्तजनसँग अनुरोध गर्ने ।
- मठ-मन्दिरको जिर्णोद्धारका लागि सरकारसँग अनुरोध गर्ने ।
-शान्ती सुरक्षा कायम गर्न तथा चोरी-चकारी रोक्न प्रहरी-प्रशासनसँग सहयोग माग्ने ।
-पापकर्म गर्ने अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिलाउन सरकारसँग अनुरोध गर्ने ।
-धर्मप्रति मानिसहरुमा आस्था जगाउन रेडियो टी।भी।तथा पत्र-पत्रिकामा प्रचार-प्रशार गर्ने ।
उक्त भेलाले समस्याको पहिचान गरी समाधानको बाटो निकालेको भन्दै दंग भए पुजारीहरु । त्यस भेलाको निष्कर्षबाट धेरैजना आशावादी देखिए ।
पत्रिकामा समाचारको रुपमा प्रकाशनार्थ आएको पुजारीहरुको बैठकको निर्णय सम्पादकले राम्ररी पढे । माथि उल्लेखित समस्या समाधानार्थ सहयोग याचना तथा कामनाका लागि कतै पनि भगवानको नाम उल्लेख गरिएको थिएन । त्यो निर्णय पढेर सम्पादक मरी-मरी हाँसे ।
साभारः स्वतन्त्र नेपाल
लघुकथा
-कृष्ण बजगाईं
एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।
यो कुरा त्यस राज्यका राजाले थाहा पाए । जादुगरलाई आफ्नै दरवारमा बोलाएर उनको कला हेर्ने रुची जाग्यो । बोलेर मानिसहरुलाई लट्ठ पार्न सक्ने वाक्कला र वाक् चातुर्यता देखेर राजा छक्क परे । अझ एउटा जादुको छडीले आश्चर्यजनक काम गर्न सक्ने उनको कला प्रति राजा नतमस्तक भए ।
त्यसपछि आफ्ना प्रजाका सम्पूर्ण समस्या समाधान गर्न उनलाई मन्त्री बनाए । राजाको यस्तो गुन बापत उनले आफ्नो जादुको छडी राजाको पाउमा समर्पण गरे । त्यसलाई राजाले राजदण्डको रुपमा प्रयोग गरे ।
जादुगर मन्त्री हुँदैमा सम्पूर्ण समस्या समाधान हुने कुरै थिएन । जादुगरी त उनको कला मात्र थियो । जसका माध्यमले आफ्नो पेट पाल्दथे ।
जनताका समस्या यथावत रहे । बिभिन्न तह र तप्का जनताहरु आफ्नो मागहरु पुरा गरियोस भन्दै दिनहुँ बिरोध जुलुस तथा सभा गर्न थाले । जनताका यस्ता माग देखेर मन्त्री चिन्तित भए । अनि जनताका सम्पूर्ण समस्या समाधान गर्न उनले पुलिसलाई डण्डा दिएर पठाए ।
साभार ः शारदा मासिक काठमाण्डौं २०६४
