कथा-कुथुङ्ग्री



कृष्ण बजगाईंको प्रकाशोन्मुख दोस्रो लघुकथा संग्रहका केही लघुकथाहरु

UncategorizedJanuary 9, 2007 9:55 pm

लघुकथा
-कृष्ण बजगाईं

पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा देख्दा बाँकी कर्मचारीहरु आश्चर्यचकित भए । झन् कोटसँग ठ्याक्कै मिल्ने कपडाको पेण्टमा लेखापाललाई देख्दा कुराले अर्कै मोड लियो ।
यो कुरो अब कर्मचारीहरुमा मात्र सिमित रहेन । चचाचुमा (चम्चागिरी चाकडी र चुक्ली) चालू एक कर्मचारीले पियनको टाईदेखि लेखापालको नयाँ पेण्टसम्मको कुरा फुलबुट्टा भरेर हाकिमलाई बेलीबिस्तार लगाए । यस्तो कुरा थाहा पाउदा हाकिमलाई उठ्नसम्मको रिस उठ्यो । हाकिमले ती कर्मचारीहरुलाई एकैपटक आफ्नो कार्यकक्षमा बोलाए ।
लहरै लाम लागेर उभिएका ती कर्मचारीहरुको पहिरनमा हाकिमले एक नजर लगाए । आफ्नो नापको कपडा ती कर्मचारीहरुलाई कति पनि नसुहाए जस्तो लाग्यो हाकिमलाई । आफ्नो छवि यसरी ती कर्मचारीहरुमा सर्लक्क बाँडिएको देखेर उनी छक्क परे । आफूलाई आउने उपहार कोशेली तथा नगद बाँडिदै आउँदा यति धेरै चुहावट हुँदो रहेछ भन्ने कुरा थाहा पाउँदा हाकिम बडो दुःखी भए ।
साभार : शब्‍दाङ्कुर, काठमाण्डौं

UncategorizedJanuary 1, 2007 9:05 pm

लघुकथा
- कृष्ण बजगाईं
बजारको सानो चोकमा ठूलै भीड जम्मा भएको थियो । भीडबाट बेलाबेलामा थपडी र हाँसोको आवाज आइरहेको थियो । चटकेले हाउ-भाउ र केही सस्ता संवादले भीडलाई लड्याईरहेको रहेछ । भीडको प्रमुख आकर्षण कागजलाई पैसा बनाउनेमा नै केन्द्रित थियो । त्यसले बेलाबेलामा कागजलाई सबैको सामु पैसा बनाईदिने गफ हाँकिरहेको थियो । बीच-बीचमा तासको खेल देखाईरहेको थियो, बाँसुरी फुकिरहेको थियो । भीडको ध्यान त्यसले खासै त तान्न सकेको थिएन तर कागजलाई पैसा बनाईदिने कुरा सुन्दा सबै आश्चर्य मानिरहेका थिए । अझ कतिले त त्यो कला सिकेरै जाने अठोट लिएका थिए ।
चटकेले कार्यक्रम अन्तिम समयमा पुगेको घोषणा गर्यो । भीड चनाखो भयो । चटकेले मौका छोप्यो- “पापी पेटको सवाल हजुर…, मेरा पनि हजुरहरुका जस्तै स-साना बालबच्चा छन् …… जे जति दया हुन्छ सहयोग गरिदिनुहोस् हजुर” . त्यसपछि मेरो यो अन्तिम खेल हुनेछ । उसले आफ्नो श्रमको पैसा माग्यो ।
मैलो तौलिया भुईंमा ओछ्यायो । भीडमा हात पसार्यो । पैसा भन्नासाथ भीड क्रमशः घट्न थाल्यो । भीडका मानिसहरु प्रतिकृया व्यक्त गर्दै हिडिररहेका थिए- “कागजलाई पैसा बनाउने भए किन पैसा माग्दथ्यो ? यो ठग हो …… हामी सबैलाई बेबकुफ बनाईदियो …आदि-आदि । चटकेको भुईंको तौलिया खालि नै थियो . भीडबाट हात पनि रित्तै फर्कियो । आफ्नो श्रम खेर गएकोमा चटके पुर्पुरोमा हात लगाएर भुईंमा बस्यो । तुरुन्तै एउटा बाल आवाजले चिच्याएको सुनियो- “श्रमको शोषण गर्न पाईंदैन”-शायद चटकेको छोरो थियो ।
साभारः मधुपर्क, काठमाण्डौं, २०४९

प्रकाशित यी लघुकथाहरु अन्यत्र पुनः प्रकाशन गर्न लेखकको अनुमति लिनु पर्दैन । -लेखक bajgaikrishna@yahoo.com