कथा-कुथुङ्ग्री



कृष्ण बजगाईंको प्रकाशोन्मुख दोस्रो लघुकथा संग्रहका केही लघुकथाहरु

UncategorizedApril 24, 2006 3:08 pm

लघुकथा

- कृष्ण बजगाईं

हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने । ढाड दुखेकोले हाकिम साहेबलाई सिरानी चाहिने भयो । हाकिमले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई एउटा नरम सिरानी किनेर ल्याउन अह्राए । ती कर्मचारीले लेखापाललाई सोको जानकारी गराए । "कहाँ सिरानी किन्न मिल्छ पछि बेरुजु निस्कन्छ ।" लेखापालले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई जानकारी गराए । लेखापालको यस्तो जवाफ उनले हाकिमलाई सुनाए । हाकिमले लेखापाललाई बोलाए । र कड्िकंदै भने -"तुरुन्त सिरानी किनेर ल्याउनुहोस् । बजेट शीर्षक पछि मिलाउँदै गर्नु ।" स्टोरकिपरले नरम मुलायम सिरानी हाकिमलाई टक्रयाए । ढाड दुख्ने बिमारले च्यापेको भनिएका हाकिम साहेबले दिनभर सिरानी काखमा खेलाईरहेको देख्दथे कार्यालयका कर्मचारीहरु । हाकिम साहेबले सिरानी खेलाउन थालेपछि टाईपिष्टको पेट दुख्न थालेको चर्चा चल्न थाल्यो । ती टाइपिष्ट कहिले चाँडै घर जान्थिन् कम्मर दुख्यो भनेर कहिले ढिलो अफिस आउँथिन् छाती दुख्यो भनेर । दिनदिनै धेरै बेरसम्म हाकिम साहेबकै कोठामा बसिरहन्थिन् चित्त दुख्यो भनेर । यसैबीच हाकिम साहेबले उर्दी जारी गरे कर्मचारीहरुलाई । "म आजकल बिरामी छु । उता टाइपिष्ट पनि बिरामी छिन् । कोठामा हामी आरामका लागि बसेको बेला कोही पनि नआउनुहोला । अत्यावश्यक काम भए भोलिपल्ट सबेरै गराउनुहोला ।" हाकिमको यस्तो आदेशलाई सबै कर्मचारीहरुले शिरोपर गरे । केही समय यतादेखि त्यस कार्यालयका हाकिम साहेबको ढाड दुखेको, टाईपिष्टको कम्मर, छाती र पेट दुखी हाकिम साहेबकै कोठामा आराम गर्न थालेको कुरा सारा कर्मचारीहरुले थाहा पाउनथाले । त्यसपछि बाँकि सबै कर्मचारीहरुको टाउको दुख्न थाल्यो ।

साभारः मधुपर्क, काठमाण्डौं

Uncategorized 9:20 am

लघुकथा

-कृष्ण बजगाईं

अचानक बिकटपुर गाउँमा दैवी प्रकोपले ठूलो क्षति पुर् यायो । िसंगै डाँडो घिउ पग्लिए झैं पग्लिएर गाउँलाई छोप्यो । र बाँकि गाउँसँगको सम्बन्ध बिच्छेद गरायो ।
मानिसहरु जिउँदै पुरिए त्यहाँ । घाईते र अंग-भंग भएकाहरुको बचाउ …बचाउ…गुहार… अईया… आत्था…आदिको आर्तनाद टाढासम्म सुनियो । छिमेकि गाउँलेहरुले त्यो दैवी विपत्ति बेलैमा थाहा पाए ।
सहयोग र उद्धारका लागि तत्कालै छिमेकी गाउँबाट मानिसहरु आए । तर त्यस गाउँमा प्रवेश गर्नलाई रोकियो । “यो गाउँ हाम्रो मुक्ति क्षेत्र हो । यहाँका सम्पूर्ण कार्य हाम्रो नीति निर्देशनमा चल्छ । यहाँ जे गर्नु पर्ने हो हामी बैठक बसेर निर्णय गर्दछौं । हाम्रो क्षेत्रमा प्रवेश गर्ने तपाईंहरुलाई अनुमति छैन ।”
“त्यहाँ जतिसक्दो चाँडो सहयोग र उद्धारको जरुरत छ । निर्णय गरुाजेलमा ढिलो हुन्छ” - गाउँलेहरुले प्रतिवाद गरे । “हाम्रो आदेशको अवज्ञा गर्नेलाई हाम्रो कानुन अनुसार कार्यवाही गर्दछौं ।” बन्दुकको भाषा बोले उनीहरुले ।
गाउँलेहरु अर्को बाटोबाट त्यस गाउँमा प्रवेश गर्न भनि िहंडे । त्यहाँ पनि प्रवेश गर्नलाई रोकियो ।
“यो गाउँ हाम्रो निगरानीमा छ । त्यहाँ जे जस्तो काम गर्नु पर्ने हुन्छ हाम्रो निगरानीमै हुन्छ । हामी माथिको आदेश पर्खेर बसेका छौं । हाम्रो आदेश बेगर कसैलाई त्यहाँ जाने इजाजत छैन । जर्वजस्ती गरेमा गोली चलाउने आदेश छ हामीसँग ।”
“मर्ने त मरिहाले तर अंग-भंग र घाईते भएकाहरुलाई बचाउन त सकिन्छ नि । त्यहाँ तुरुन्त मानवीय सहयोगको खाँचो छ” -गाउँलेहरुले शाहस झिकेर बोले । जवाफ सकिन नपाउँदै बन्दुकले निशाना लगाई सकेको थियो । यन्त्रवत् खडाभए सबैजना ।
बचाउ… बचाउ… गुहार… अईया … आत्था…मरे… चित्कार आइनै रह्यो । सबैजना पर्यटक जस्ता भएर रमिता मात्र हेरिरहे ।
साभार: नेपालीपत्र

Uncategorized 8:58 am

लघुकथा

-कृष्ण बजगाईं

शहरको ब्यस्त चौकमा दुईजना ब्यक्ति बिच झगडा पर्यो । झगडा हात हालाहालको थियो । आसपासका पसलेहरु तथा बटुवाहरु बडो रमिते भएर हाँसो छोड्दै थपडि बजाउँदै मनोरंजन लिइरहेका थिए । रमितेहरुको भीड थपिदै थियो । कसैले पनि छुट्रयाउने कोशिस गरेनन् मात्र मनोरंजन लिइरहे ।
ती दुईको झगडामा किन मानिसहरुले मनोरंजन लिएका रहेछन् भन्दा त एउटा पागल जो दिनभर चोक वरपर डुल्दथ्यो । फ्याँकेका सडेगलेका खानेकुरा खान्थ्यो । बेला-बेलामा के हुँदोरहेछ कुन्नी चोकमा उभिएर हाउभाउ देखाई विभिन्न अभिनय गर्दथ्यो । अर्को झगडिया थियो लाटो । जो उहि पागल छेउ भएर कतै जाँदै थियो । पागलले चोकमा विभिन्न हाउभाउ देखाउँदै थियो , लाटोलाई लागेछ आफूलाई जिस्क्याइरहेछ । उसले सरासर गएर पागललाई पिट्न थाल्यो । त्यतिकैमा झगडा सुरु भएको रहेछ ।
यसैबीच भीड र होहल्लाका कारण पुलिसहरु आईपुगे । पुलिसले ती झगडियालाई समातेर लैजान थाल्यो । भीड झन् हाँस्न थाल्यो । भीडका एक ब्यक्तिले पुलिसलाई भने - “हैन यी त पागल र लाटा हुन् कहाँ लैजान लाग्नु भा’ को ?”
पुलिसले झोंक्किदै भने - “के ठान्नु भा छ तपाईंहरुले पुलिसलाई ? पुलिस लाटो हुन्छ ? बहुलाएको हुन्छ ? यिनीहरुलाई सजायँ दिन प्रहरी चौकीमा लैजादैछु ।”
कति चाँडो प्रहरी चौकी भित्र पुर्याइए ती दुईलाई । पुग्नेबित्तिकै सबैभन्दा पहिले प्रहरीले उनीहरुको गोजी छाम्दै थियो ।

साभारः भावना त्रैमासिक, धरान

Uncategorized 8:15 am

लघुकथा

-कृष्ण बजगाईं
अचानक अति राम्री एक युवतीको मृत्यु भयो । मृत्युलाई लिएर विभिन्न चर्चा-परिचर्चा चल्न थाल्यो । बाहिरी मान्छेको दवाबमा पोष्टमार्टम गराइनु पर्ने भयो । डाक्टरले मृत युवतीको शवलाई पोष्टमार्टमका लागि भित्री कोठामा लगे ।
बाहिर मृतकका आफन्त शुभ-चिन्तक लगायत रमितेहरुको भीड जम्मा हुनथाल्यो । “यस युवतीले आत्महत्या गरेको हुनुपर्दछ”- भीडको एउटा टाउको बोल्यो । हैन यिनको हत्या गरिएको हो”- भीडको अर्को टाउको चल्यो । “मृतकको आत्माले शान्ति पाउँदैन त्यसरी नभन । यिनलाई त भगवानले टपक्क टिपेर लग्या हो । कस्तो राम्रो मरण”- बूढो टाउकोले सहानुभूति प्रकट गर्यो । त्यसैबीच एउटा अराजक टाउकोले घोषण गर्यो- “यो केटीमाथि बलात्कार भएको छ ।” त्यसपछि भीडका सबै टाउकाहरु बाेल्न थाले- “बलात्कारीलाई फाँसी दे…… फाँसी दे……फाँसी दे……!
पोष्टमार्टमको रिपोर्ट लिएर डाक्टर भीड नजिक आइ रिपोर्ट सुनाउँदै थिए । उता भीड चिच्याउँदै नारा लगाउन थाल्यो-बलात्कारीलाई फाँसी दे……फाँसी दे……फाँसी दे……! डाक्टरले कड्केर भने- “रिपोर्ट सुन्नुहोस…!” रिपोर्ट भनेपछि भीड अलि शान्त भयो । डाक्टरले भन्न सुरु गरे- “मृत्यु पश्चात चािहं यस युवतीको बलात्कार भएको छ ।” भीड फेरि चिच्याउन थाल्यो- “बलात्कारीलाई फाँसी दे…! फाँसी दे…! फासी दे……!”
“चुप लाग्नोस् ! त्यो बलात्कारी तपाईहरु हो”- डाक्टर कड्के । “कसरी ?”- भीडले सोध्यो । “ह्दयगति बन्द भएर मरेकी युवतीको मृत्युलाई तपाईहरु व्याख्या-अपव्याख्या गरी उनको ईज्जतमाथि जो बलात्कार गरिरहनु भएको छ”- डाक्टरको कुरा सुनि भीडका टाउकाहरु शरमले निहुरिए । भीड क्रमशः घट्यो ।

साभार ः सुभारम्भ, काठमाण्डौं

प्रकाशित यी लघुकथाहरु अन्यत्र पुनः प्रकाशन गर्न लेखकको अनुमति लिनु पर्दैन । -लेखक bajgaikrishna@yahoo.com