कथा-कुथुङ्ग्री



कृष्ण बजगाईंको प्रकाशोन्मुख दोस्रो लघुकथा संग्रहका केही लघुकथाहरु

UncategorizedApril 24, 2006 3:08 pm

लघुकथा

- कृष्ण बजगाईं

हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने । ढाड दुखेकोले हाकिम साहेबलाई सिरानी चाहिने भयो । हाकिमले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई एउटा नरम सिरानी किनेर ल्याउन अह्राए । ती कर्मचारीले लेखापाललाई सोको जानकारी गराए । "कहाँ सिरानी किन्न मिल्छ पछि बेरुजु निस्कन्छ ।" लेखापालले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई जानकारी गराए । लेखापालको यस्तो जवाफ उनले हाकिमलाई सुनाए । हाकिमले लेखापाललाई बोलाए । र कड्िकंदै भने -"तुरुन्त सिरानी किनेर ल्याउनुहोस् । बजेट शीर्षक पछि मिलाउँदै गर्नु ।" स्टोरकिपरले नरम मुलायम सिरानी हाकिमलाई टक्रयाए । ढाड दुख्ने बिमारले च्यापेको भनिएका हाकिम साहेबले दिनभर सिरानी काखमा खेलाईरहेको देख्दथे कार्यालयका कर्मचारीहरु । हाकिम साहेबले सिरानी खेलाउन थालेपछि टाईपिष्टको पेट दुख्न थालेको चर्चा चल्न थाल्यो । ती टाइपिष्ट कहिले चाँडै घर जान्थिन् कम्मर दुख्यो भनेर कहिले ढिलो अफिस आउँथिन् छाती दुख्यो भनेर । दिनदिनै धेरै बेरसम्म हाकिम साहेबकै कोठामा बसिरहन्थिन् चित्त दुख्यो भनेर । यसैबीच हाकिम साहेबले उर्दी जारी गरे कर्मचारीहरुलाई । "म आजकल बिरामी छु । उता टाइपिष्ट पनि बिरामी छिन् । कोठामा हामी आरामका लागि बसेको बेला कोही पनि नआउनुहोला । अत्यावश्यक काम भए भोलिपल्ट सबेरै गराउनुहोला ।" हाकिमको यस्तो आदेशलाई सबै कर्मचारीहरुले शिरोपर गरे । केही समय यतादेखि त्यस कार्यालयका हाकिम साहेबको ढाड दुखेको, टाईपिष्टको कम्मर, छाती र पेट दुखी हाकिम साहेबकै कोठामा आराम गर्न थालेको कुरा सारा कर्मचारीहरुले थाहा पाउनथाले । त्यसपछि बाँकि सबै कर्मचारीहरुको टाउको दुख्न थाल्यो ।

साभारः मधुपर्क, काठमाण्डौं

Uncategorized 9:20 am

लघुकथा

-कृष्ण बजगाईं

अचानक बिकटपुर गाउँमा दैवी प्रकोपले ठूलो क्षति पुर् यायो । िसंगै डाँडो घिउ पग्लिए झैं पग्लिएर गाउँलाई छोप्यो । र बाँकि गाउँसँगको सम्बन्ध बिच्छेद गरायो ।
मानिसहरु जिउँदै पुरिए त्यहाँ । घाईते र अंग-भंग भएकाहरुको बचाउ …बचाउ…गुहार… अईया… आत्था…आदिको आर्तनाद टाढासम्म सुनियो । छिमेकि गाउँलेहरुले त्यो दैवी विपत्ति बेलैमा थाहा पाए ।
सहयोग र उद्धारका लागि तत्कालै छिमेकी गाउँबाट मानिसहरु आए । तर त्यस गाउँमा प्रवेश गर्नलाई रोकियो । “यो गाउँ हाम्रो मुक्ति क्षेत्र हो । यहाँका सम्पूर्ण कार्य हाम्रो नीति निर्देशनमा चल्छ । यहाँ जे गर्नु पर्ने हो हामी बैठक बसेर निर्णय गर्दछौं । हाम्रो क्षेत्रमा प्रवेश गर्ने तपाईंहरुलाई अनुमति छैन ।”
“त्यहाँ जतिसक्दो चाँडो सहयोग र उद्धारको जरुरत छ । निर्णय गरुाजेलमा ढिलो हुन्छ” - गाउँलेहरुले प्रतिवाद गरे । “हाम्रो आदेशको अवज्ञा गर्नेलाई हाम्रो कानुन अनुसार कार्यवाही गर्दछौं ।” बन्दुकको भाषा बोले उनीहरुले ।
गाउँलेहरु अर्को बाटोबाट त्यस गाउँमा प्रवेश गर्न भनि िहंडे । त्यहाँ पनि प्रवेश गर्नलाई रोकियो ।
“यो गाउँ हाम्रो निगरानीमा छ । त्यहाँ जे जस्तो काम गर्नु पर्ने हुन्छ हाम्रो निगरानीमै हुन्छ । हामी माथिको आदेश पर्खेर बसेका छौं । हाम्रो आदेश बेगर कसैलाई त्यहाँ जाने इजाजत छैन । जर्वजस्ती गरेमा गोली चलाउने आदेश छ हामीसँग ।”
“मर्ने त मरिहाले तर अंग-भंग र घाईते भएकाहरुलाई बचाउन त सकिन्छ नि । त्यहाँ तुरुन्त मानवीय सहयोगको खाँचो छ” -गाउँलेहरुले शाहस झिकेर बोले । जवाफ सकिन नपाउँदै बन्दुकले निशाना लगाई सकेको थियो । यन्त्रवत् खडाभए सबैजना ।
बचाउ… बचाउ… गुहार… अईया … आत्था…मरे… चित्कार आइनै रह्यो । सबैजना पर्यटक जस्ता भएर रमिता मात्र हेरिरहे ।
साभार: नेपालीपत्र

Uncategorized 8:58 am

लघुकथा

-कृष्ण बजगाईं

शहरको ब्यस्त चौकमा दुईजना ब्यक्ति बिच झगडा पर्यो । झगडा हात हालाहालको थियो । आसपासका पसलेहरु तथा बटुवाहरु बडो रमिते भएर हाँसो छोड्दै थपडि बजाउँदै मनोरंजन लिइरहेका थिए । रमितेहरुको भीड थपिदै थियो । कसैले पनि छुट्रयाउने कोशिस गरेनन् मात्र मनोरंजन लिइरहे ।
ती दुईको झगडामा किन मानिसहरुले मनोरंजन लिएका रहेछन् भन्दा त एउटा पागल जो दिनभर चोक वरपर डुल्दथ्यो । फ्याँकेका सडेगलेका खानेकुरा खान्थ्यो । बेला-बेलामा के हुँदोरहेछ कुन्नी चोकमा उभिएर हाउभाउ देखाई विभिन्न अभिनय गर्दथ्यो । अर्को झगडिया थियो लाटो । जो उहि पागल छेउ भएर कतै जाँदै थियो । पागलले चोकमा विभिन्न हाउभाउ देखाउँदै थियो , लाटोलाई लागेछ आफूलाई जिस्क्याइरहेछ । उसले सरासर गएर पागललाई पिट्न थाल्यो । त्यतिकैमा झगडा सुरु भएको रहेछ ।
यसैबीच भीड र होहल्लाका कारण पुलिसहरु आईपुगे । पुलिसले ती झगडियालाई समातेर लैजान थाल्यो । भीड झन् हाँस्न थाल्यो । भीडका एक ब्यक्तिले पुलिसलाई भने - “हैन यी त पागल र लाटा हुन् कहाँ लैजान लाग्नु भा’ को ?”
पुलिसले झोंक्किदै भने - “के ठान्नु भा छ तपाईंहरुले पुलिसलाई ? पुलिस लाटो हुन्छ ? बहुलाएको हुन्छ ? यिनीहरुलाई सजायँ दिन प्रहरी चौकीमा लैजादैछु ।”
कति चाँडो प्रहरी चौकी भित्र पुर्याइए ती दुईलाई । पुग्नेबित्तिकै सबैभन्दा पहिले प्रहरीले उनीहरुको गोजी छाम्दै थियो ।

साभारः भावना त्रैमासिक, धरान

Uncategorized 8:15 am

लघुकथा

-कृष्ण बजगाईं
अचानक अति राम्री एक युवतीको मृत्यु भयो । मृत्युलाई लिएर विभिन्न चर्चा-परिचर्चा चल्न थाल्यो । बाहिरी मान्छेको दवाबमा पोष्टमार्टम गराइनु पर्ने भयो । डाक्टरले मृत युवतीको शवलाई पोष्टमार्टमका लागि भित्री कोठामा लगे ।
बाहिर मृतकका आफन्त शुभ-चिन्तक लगायत रमितेहरुको भीड जम्मा हुनथाल्यो । “यस युवतीले आत्महत्या गरेको हुनुपर्दछ”- भीडको एउटा टाउको बोल्यो । हैन यिनको हत्या गरिएको हो”- भीडको अर्को टाउको चल्यो । “मृतकको आत्माले शान्ति पाउँदैन त्यसरी नभन । यिनलाई त भगवानले टपक्क टिपेर लग्या हो । कस्तो राम्रो मरण”- बूढो टाउकोले सहानुभूति प्रकट गर्यो । त्यसैबीच एउटा अराजक टाउकोले घोषण गर्यो- “यो केटीमाथि बलात्कार भएको छ ।” त्यसपछि भीडका सबै टाउकाहरु बाेल्न थाले- “बलात्कारीलाई फाँसी दे…… फाँसी दे……फाँसी दे……!
पोष्टमार्टमको रिपोर्ट लिएर डाक्टर भीड नजिक आइ रिपोर्ट सुनाउँदै थिए । उता भीड चिच्याउँदै नारा लगाउन थाल्यो-बलात्कारीलाई फाँसी दे……फाँसी दे……फाँसी दे……! डाक्टरले कड्केर भने- “रिपोर्ट सुन्नुहोस…!” रिपोर्ट भनेपछि भीड अलि शान्त भयो । डाक्टरले भन्न सुरु गरे- “मृत्यु पश्चात चािहं यस युवतीको बलात्कार भएको छ ।” भीड फेरि चिच्याउन थाल्यो- “बलात्कारीलाई फाँसी दे…! फाँसी दे…! फासी दे……!”
“चुप लाग्नोस् ! त्यो बलात्कारी तपाईहरु हो”- डाक्टर कड्के । “कसरी ?”- भीडले सोध्यो । “ह्दयगति बन्द भएर मरेकी युवतीको मृत्युलाई तपाईहरु व्याख्या-अपव्याख्या गरी उनको ईज्जतमाथि जो बलात्कार गरिरहनु भएको छ”- डाक्टरको कुरा सुनि भीडका टाउकाहरु शरमले निहुरिए । भीड क्रमशः घट्यो ।

साभार ः सुभारम्भ, काठमाण्डौं

UncategorizedApril 23, 2006 6:35 pm

लघुकथा

-कृष्ण बजगाईं
सित्तैमा……सित्तैमा……! आउनुहोस् हजुर सित्तैमा एकभारी दाउरा लैजानुहोस । राम्रो सुकेको दाउरा छ सित्तैमा लैजानुहोस् ।
शहरमा अघिल्लो दिनदेखि दाउरा नबिकेर निराश भई बसेको दाउरेले दाउरा बेच्ने जुक्ति निकाल्यो । सित्तैमा दाउरा पाईने खबर सुन्नासाथ मानिसहरुको भीड जम्मा हुन थाल्यो ।
भीडको एउटा मान्छेले भन्यो- “खै यो दाउरा म लैजान्छु ।” तत्कालै भीडको अर्को ब्यक्तिले प्रतिरोध गर्दै भन्यो- “यो दाउरा त मैले लैजान पाउनु पर्छ । सित्तैमा दाउरा भन्ने कुरा सबैभन्दा पहिले मैले सुनेको हुँ ।” दाउरा सित्तैमा लैजान भीड तँ छाड म छाड गर्दै थपिदै गयो । भीडको अर्को एउटा खाईलाग्दो मान्छे चिच्यायो- “यो दाउराको पहिलो हकदार मै हुँ । यसले हिजै म कहाँ दाउरा बेच्न ल्याएको थियो । पच्चीस रुपैयाँ दामसम्म लगाएँ तर तीस रुपैयाँ भन्दा यता छाड्दै छाडेन । आज त सित्तैमा दिदैरहेछ । खै छाड्नोस ।” उसले दाउराको भारी समात्यो ।
“तीस रुपैयाँ दिएर लानोस हजुर”-दाउरेले भन्यो । “के भन्छ यो ? अघि सित्तैमा दिने भन्या हैन ” मोटे मान्छेले आश्चर्य प्रकट गर्यो । “हजुर सित्तैमा त हो नि मैलॆ त दाउरा बोकेर ल्याएको ज्याला मात्र मागेको हो । तपाई नै भन्नुहोस त ५/६ किलोमीटर टाढाबाट एक भारी सामान बोकेर ल्याउनु पर्यो भने तीस रुपैयाँ भन्दा कम ज्यालामा कसले बोकेर ल्याउँछ ? मैले त दाउरा बोकेको ज्याला मात्र मागेको हुँ दाउरा त सित्तैमा हो िन” -दाउरेले भन्यो । उसको यस्तो कुरा सुन्नासाथ भीड क्रमशः घट्यो ।

साभार ः भावना त्रैमासिक, धरान

Uncategorized 6:24 pm

लघुकथा

- कृष्ण बजगाईं

“यसपटक त म उधारो दिनै सक्दिन । पहिलेकै उधारो तिर्न बांँकि छ ।” पसलेले रिसाउँंदै भन्यो । “हैन हजूर यो अन्तिम उधारो हो । भरदिन रित्तो पेट खान एक गेडो अन्न छैन रातभर उँडुस - उपिँयाले सुत्न दिदैनन् । उपाय त निकाल्नै पयोै्र ।”उसले हात जोडेर विन्ती गरी ।
पसलेले पुरानो उधारो चुक्ता हुने आशमा विषालु किटनाशक औषधी उधारोमै दियो । उनी औषधी बोकेर डेरा तिर लागिन ।
भोलीपल्ट कसैको आत्महत्याको खवर टोल छिमेकमा तुरुन्तै आगोझैं सल्किहाल्यो । मानिसका भीड सागरझैं बढेर आयो । एउटी असहाय गरिव महिला र उनका दुई सन्तानको सामूहिक आत्महत्याले सवैको मन रुवायो । भीडका सवैले दुःख व्यक्त गर्न थाले ।
“सहिदका परिवारले खान नपाएका कारण आत्महत्या गर्नु पर्यो । सरकारलाई लाज लाग्नुपर्ने हॊ ।” एक बिपक्षी पार्टीका कार्यकर्ताले आक्रोस पोखे ।
“खान नपाएर त होईन होला । नत्र म सरकारलाई भनेर व्यवस्था मिलाई दिन्थे नि ।ू सत्तापक्षका कार्यकर्ताले आफ्नो पहुँचको ब्याख्या गरे ।”
“दुई न्ािर्दोष बच्चाको के अपराध थियो र आफूसँगै मारी । पाल्न नसक्नेले जन्माउनु हुँदैन थियो ।” भीडका एकजनाले दर्शन छाँटे ।
भीडका प्रत्येक मानिसका आ-आफ्नो तर्क र विचार जे भएपनि सामूहिक आत्महत्याप्रति सबैले दुःख प्रकट गरिरहेका थिए । त्यस भीडमा सबै भन्दा बढी दुखी देखिन्थे उही पसले, आफ्नो उधारो डुबेकोमा ।

Uncategorized 6:10 pm

लघुकथा

-कृष्ण बजगाईं

मन्त्रीज्यूले केही दिन यता जुत्ता लगाएर िहडेपछि अनौठौ आवाज आएको महशुस गर्नु भो ।
त्यसो त नयाँ जुत्ता केही दिन चँुइकिने अलि अप्ठेरो हुने वा कतै समाउने हुन्छनै । तर त्यो त केही महिनै भइ सकेको थियो । त्यो आवाजको बारेमा आफैलाई भ्रम भएको हो कि जस्तो पनि भयो । तर उहाँले धेरै पल्ट उही आवाज सुन्नु भो ।
मन्त्री हुने हल्ला पत्रिकामा छापिने बित्तिकै जुत्ताको अर्डर गर्नु भो । त्यसो त मन्त्रीज्यूको खुट्टालाई मिल्ने जुत्ता बजारमा किन्न पाईदैन नयाँ अर्डर गर्नु पर्दछ ।
मन्त्री भएको खवर रेडियोबाट सुन्नु भो । दौिडंदै जुत्ता अर्डर गरेको दोकानमा पुग्नुभो । र लगाई रहेको चप्पल त्यहीं छाडी जुत्ता कसेर िहंडिहाल्नु भाथ्यो ।
जुत्ता त साह्रै सजिलो थियो । कतै खाँदैन थियो । तर जब जब जुत्ता लगाएर िहंड्नु हुन्थ्यो तब तब दुःख चित्कार पींडाको आवाज आएको अनुभूति हुनथाल्यो मन्त्रीज्यूलाई केही महिना यता ।
केही समयपछि त्यस जुत्ताको रंगमा पनि परिवर्तन आएको देख्नथाल्नु भो । मन्त्रीज्यूले त्यसमा पालिस दलेर खुव चम्काउनु भो । जति जति जुत्ता टल्किदै जान्थ्यो दुखी पिडीत र गरिबका ख्याउटे अनुहार झन् प्रष्ट देख्न थाल्नुभो जुत्तामा ।
पीडाका आवाज सुनिरहनुभो विम्व देखिरहनुभो । यस्तो आश्र्यजनक घटनाका बावजुद पनि मन्त्रीज्यूले त्यो जुत्ता लगाउन छाड्नु भएन । किनकि जुत्ता साहै सजिलो थियो ।
केही महिना यता थोत्रो जुत्ता लगाएको दुखी युवक मन्त्री क्वार्टर र मन्त्रालयमा धेरै पटक धाईरहेको देखिन्थ्यो, एक जोर जुत्ताको भुत्तानि पाउन ।

साभार ः अभिव्यक्ति द्धैमासिक, काठमाण्डौं

Uncategorized 3:49 pm

लघुकथा


-कृष्ण बजगाईं

विदेशी दातृसस्थाले आवश्यक रकम संगै दानमा दिएको ऐना आएदेखि त्यस कार्यालयका कर्मचारीहरु असहज महसुस गर्न थाले । कार्यालय भवनको मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै देखिने ठूलो पूर्णकदको ऐनाले हरेकलाई आकर्षित गर्दथ्यो । सुन्दर कलात्मक बुट्टाको प्रेmम भएको ऐना आफैमा पनि उत्तिकै आकर्षक देखिन्थ्यो । ऐना छेउ भएर जति नै पटक ओहोर-दोहोर गर्दा पनि नहेरुँ भन्दा-भन्दै ऐना नहेरी मन मान्दैनथ्यो ।
केही दिन यता भने त्यस कार्यालयका कर्मचारीहरु एका-एक आफैंसँग भयभीत हुन थाले । आफ्नै प्रतिविम्ब कार्यालयको ऐनामा देखेर डराउँदथे ।
आफैलाई भ्रम भएको हो कि भनेर ऐना अगाडि पुगेर केश सम्याए कपडा ठिक-ठाक मिलाए उही आकृतिको आभास हुनथाल्यो । भ्रष्ट कमिशनखोर बेईमान कामचोर चाकरीबाज चम्चा चुक्लीबाज…आदिमा आफ्नो विम्ब रुपान्तरण भएको आभास हुँदा भयका साथै घोर आश्चर्य पनि लाग्यो । त्यो भय अब आफूबीच मात्र सिमित रहेन । यस्तै पीडाको अनुभूति आफूलाई जस्तै अरु सहकर्मीलाई पनि भएको थाहा पाएपछि लुकाई रहनु पर्ने विषय रहेन त्यो । यो कुरा अब हाकिम कहाँ पुग्यो । हाकिम त झन् क्रोनिक भै सकेका रहेछन् । आफू सहित कार्यालयका कर्मचारीहरु एकै खालको भयले ग्रस्त भएको थाहा पाउँदा हाकिम झन् चिन्तित भए ।
त्यस पछि कार्यालयमा पीडित कर्मचारीहरुको गोप्य बैठक बस्यो । सबैले ऐनाबाट भयभित भएको कुरा खुलेरै व्यक्त गरे । कर्मचारीहरुले त्यस ऐनालाई कार्यालयबाट हटाउनै पर्ने राय व्यक्त गरे । तर सजिलै त्यस ऐनालाई हटाई हाल्न नसकिने कुरा बैठकमा निस्कियो । “दाताले प्रदान गरेको ऐना तिनीहरुको अनुमति बेगर हटाउन मिल्दैन” -हाकिमले भने । पाका उमेरका एक कर्मचारीले थपे- “यस ऐनामा अवश्य कुनै दैवी शक्ति छ जस्तो लाग्दछ जस्ताको तस्तै हाम्रो प्रतिविम्व उतार्दछ । त्यसै हटाउँदा कुनै विपत्ति आउन सकछ ।” एक प्राविधिक फाँटका कर्मचारीले व्याख्या गरे- “यस ऐनामा कुनै प्रविधि जोडिएको हुनुपर्दछ । भिडियो क्यामराले खिचेर देखाए जस्तै लाग्दछ । हटाउँने हुँदा निकै विचार पुर् याउनु पर्दछ ।” भय त्रास र शंका-उपशंकाकाबीच आखिरमा बैठक कुनै निर्णय बेगर सकियो । सानो धक्काबाट क्षणभरमै झर्याम्-झुरुम् हुने काँचको निर्जिव ऐनाबाट यति साह्रो भयभित भएका थिए ती कर्मचारीहरु ।
ऐना हटाइँदै छ भन्ने कुराको चर्चा कार्यालयमा चल्यो । त्यो कुरा सुनेर कार्यालयका सिधा-साधा र अतिरिक्त आम्दानी हात नपार्ने तथा पियन-चौकिदार लगायतका कर्मचारीहरु पनि खुसी देखिए । किनभने उनीहरु चांिहं अर्के पीडाबाट दुखी बनेका थिए । आफ्नो गरिबी कार्यालयको पूर्णकद देखिने ऐनामा हेर्दा मात्र थाहा पाए । कार्यालयको ऐनाले प्रत्येक पटक आफ्नो गरिबीलाई गिज्याएको जस्तो लाग्नथाल्यो ।
सावधान तपाईंहरु भ्रष्टचार विहीन क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ !
-भ्रष्टचार सामाजिक अपराध हो; भ्रष्टचारीलाई दण्डित गरौ !
-घुस खाने-खुवाउने दुवै दोषी हुन् ; दुवै दण्डका भागी हुन्छन् !
-कमिसन र घुस एकै हुन् ; लिने-दिने उत्तिकै दण्डित हुन्छन् !
-नातावाद कृपावाद चाकरी चुक्ली आदि गर्नेलाई सामाजिक बहिष्कार गरौं !
……आदि लेखिएको ऐना भन्दा पनि ठूलॊ सूचना पाटी कार्यालयमा ल्याइयो । र त्यो सूचना पाटी ऐनालाई छोप्ने गरि ठिक अगाडि राखियो । अनि त्यो बेइमान ऐनाको आतङ्कबाट मुक्ति पाइयो भन्दै पूर्ववत् कार्यमा लिप्त भए कर्मचारीहरु ।
त्यसको लगत्तै सूचना पाटी ल्याउँदा मिलाइएको कमिशन रकमले हाकिम र केही कर्मचारीहरु मात्र मिलेर खुशीयालीमा भोज खाए । त्यसपछि भोज नखाएका बाँकि कर्मचारीहरुलाई भने अपच भयो ।

साभार ः मधुपर्क

Uncategorized 11:40 am

लघुकथा

- कृष्ण बजगाईं

बिकटपुरका वासिन्दाहरुमा अचानक त्रास छायो । त्यस दिन अनायसै एक हुल सैनिक पोशाक लगाएका जवानहरु आएर भने-”अबदेखि यहां हाम्रो आदेश चल्छ । आजदेखि सबैले हाम्रो भजन गाउनु । भजन गाउनेहरुले भविष्यमा राम राज्य पाउनेछन् । विरोध गर्नेहरु यमराज्यमा पुग्नेछन् ।” यस्तो आदेश दिएर उनीहरु चोरबाटो लागे।
त्यस घटनाको केही दिन बित्न नपाउंदै सैनिक पोशाक लगाएका अर्का एक हुल जवानहरु आएर कड्के-”यस वस्तीमा नयां भजन गाउन थालेको कुराको सुराकी पाएकाछौ । खवरदार कसैले नयां भजन गाउला, पुरानै राग अलाप्नु । अन्याथा मृत्युलोक पुग्नु पर्ला।” यती खबरदारी गरेर उनीहरु अर्को बाटो समाए।
दुःख र अभावको आफ्नै राज्य हो भनि ठान्दथे त्यस बिकटपुरलाई। पींडा र विरहको गीत संधै गाउंदथे । त्यहीं रमाई रहेका थिए दुखी नै भए पनि।
शान्ति र अमनचयन बन्दुकको नालमा सिउरेर आफ्नै अगाडि हिंडेका मानविय संवेदना नभएका शिकारी जस्ता मानिसका आकृति सम्झंदा आतंकित भए । बितेका दुइ घटनाबाट त्यस बिकटपुरका बासिन्दामा त्रास छायो ।
दुःखै-दुःख, पीडा, अभाव र गरिवीको बीच बांचिरहेका त्यस गाउंका वासिन्दालाई अर्को महादुःख थपियो । उनीहरु अहिले धर्मसंकटमा छन् कुन दुःखमा रमाउने भनेर ।

साभार: एचकेनेपाल डट कम

Uncategorized 10:02 am

लघुकथा

- कृष्ण बजगाईं

आफ्नो मान्छे माथि भएपछि योग्यता नपुगे पनि राजनीतिक नियुक्ति पाउनु भो नेताजीले हाकिमको । पहिलो दिन कार्यालय लुखुर-लुखुर हिंडेर पुग्नु भयो । आफ्नो अफिस कोठा देखेर एकछिन त दङ्ग पर्नुभयो ।

एकैछिनमा त्यस कार्यालयका कर्मचारीबीचमा खासखुस चल्यो । त्यसको कारण बेलैमा थाहा पाउनु भो र हुनुसम्मको आफ्नो बेइज्जती भएको महसुस गर्नुभयो । कारण थियो उहाँले लगाउनु भएको कोट-पेन्टको कपडा र सोफाको खोल एकै कपडाको परेछ । आत्तिँदै झयालको पर्दातिर हर्ेर्नुभो, कतै कमिजसँग त मिल्दैन - अलिक ढुक्क हुनुभयो । त्यो अर्कै रहेछ ।

चचाचुमा (चम्चागिरी, चाकरी र चुक्ली) सिपालु एक कर्मचारीले तुरुन्त सोफाको खोल निकाली हाकिमको बाँकी इज्जत जोगाइ दिए ।
मातहतका कर्मचारीहरूलाई निर्देशन दिनुभयो- “छिटो, छरितो, इमानदार, स्वच्छ, पारदर्शी र मितव्ययीरूपमा कार्यालयमा कामकाज गर्नुहोला ।”

भोलिपल्टदेखि कार्यालयमा मितव्ययिताको लहर सुरु भयो । पानीको फिल्टरको ठाउँमा माटाको गाग्री राखियो । कार्यालयमा बिजुलीबाट चल्ने पङ्खा बन्द गराएर हातैले हम्किनु पर्ने पङ्खा राख्ने आदेश जारी भयो । आसचपु (आर्थिक सहायता, चन्दा, पुरस्कार) बितरण र अतिथिसत्कारको बाढी आयो कार्यालयमा ।

खरिद-बिक्री, टेण्डर स्वीकृति र बजेट रकमान्तरजस्ता कार्यलाई कुनै नीति-नियम चाहिएन । कार्यालयमा आवश्यक पर्ने सामग्री माग गरेभन्दा थोरै स्वीकृत हुने र आवश्यकै नपर्ने सामग्रीको खरिद अचाक्ली बढेर गयो । कार्यालयका राम्रा सामान हाकिमको क्वार्टर हुँदै अन्ततः क्वार्टरबाट सबै सामान स्यालको सिंग हराएझैँ हराउँदै गए ।

क्वार्टर नधाउने, सीधासाधा र काममै व्यस्त कर्मचारीहरूलाई बिरोधी देख्न थाल्नु भयो । कार्यालयको काममा भन्दा हाकिमसाबको क्वार्टरमा ओभर टाइम गर्नेहरूको भीड लाग्न थाल्यो र चचाचुका सङ्ख्या पनि वृद्धि हुन थाल्यो ।

आजकल एकपछि अर्को गर्दै साँझ-बिहान पर्दा र सोफाको खोलका कपडाका नयाँ-नयाँ सेम्पल लिएर कर्मचारीहरू उहाँको क्वार्टरमा धाउन थालेका छन् । सेम्पलका कपडा ती कर्मचारीहरूका दिनहुँ लगाउने कपडाका दुरुस्त नमुना हुन् जो स्वच्छ, इमान्दार, छरिता र आफ्ना काममा दक्ष छन् ।

साभार: मधुपर्क

प्रकाशित यी लघुकथाहरु अन्यत्र पुनः प्रकाशन गर्न लेखकको अनुमति लिनु पर्दैन । -लेखक bajgaikrishna@yahoo.com