लघुकथा
कृष्ण बजगाईं
आखिरमा माग्नु बाहेक अरु विकल्प देखेन उसले । अपरिचित सहरका मानव संवेदना नभएका मानिससँग जति दुःख बिसाए पनि कसैले सहानुभूति देखाएनन् । अन्ततः मन्दिर परिसरमा गएर भिख माग्ने विचार गर्यो ।
मन्दिर परिसरका व्यावसायिक मगन्तेहरूको भीडमा आफूलाई पाउँदा असजिलो महसुस गर्यो । नमागि सुखै थिएन उसलाई । उसको नजरले परैबाट एक आशलाग्दो चेहरा मन्दिर तिर आइरहेको ठम्यायो ।
“तीन दिनदेखिको भोको छु , दुइ-चार पैसा या केही अन्न जे हुन्छ पाउँ हजुर !” उसले हात पसार्यो त्यस व्यक्तिको अगाडि । उसको कुरा नसुने झैं गरी झोलाबाट दुइ-चार मुठी अन्न हुर्यायो मन्दिर अगाडि । त्यहाँ पहिलेदेखि नै त्यतिकै छरिएर रहेका अन्न छँदै थिए । उसको अन्नले फोहर थप्ने काम मात्र गर्यो । त्यो थाहा पाउँदा पाउँदै पनि माग्नेलाई चाँहि दिएन त्यसले ।
माग्नेले पछ्याउन छाडेन त्यो व्यक्तिलाई । फेरि अगाडि गएर दुइ-चार पैसाको लागि याचना गर्दै हात पसार्यो । तर उसले टाउको फर्काएर पनि हेरेन । मन्दिर परिसरका कुना-कानी सबै ठाउँमा सुका-सुकी पैसा चढाउँदै गयो । भगवानको नाममा चढाएको पैसा हत्त न पत्त पुजारीले गोजीमा हालेको माग्नेले टुलु-टुलु हेरिरह्यो । तर आफूले टिप्ने हिम्मत गरेन ।
त्यो व्यक्ति राता रङ्ग र फूल-अक्षता छरिएको ठाउँमा पैसा चढाउदै हिँड्थ्यो । अन्त्यमा उसको पूजा सकिएपछि त अवश्य पैसा दिन्छ जस्तो लाग्यो त्यस माग्नेलाई ।
अब त्यो व्यक्ति मन्दिर छेउमै रहेको नदी तिर लाग्यो । माग्नेले पनि पछ्याई रह्यो । शान्त बगिरहेको नदीको पानीमा दुइ-चार पैसा हुर्यायो । नदीको पानीमा त कुनै तरङ्ग आएन तर माग्नेको मन तरङ्गति भएर आयो ।
भगवानको नाममा ढुँङ्गा-माटो सबैलाई पैसा चढाउँदा उसले टिपेन । हुँदा हुँदा नदीमा पैसा फालेपछि असह्य भयो त्यस माग्नेलाई । झवाम्म पानीमा फाल हानेर डुबुल्की लगायो । र छिन भरमै पानी बाहिर आयो । निस्केर आउँदा त माग्नेले अँजुली भरि सिक्का-पैसा लिएर आयो ।
धन प्राप्तिका लागि आफूले त्यत्रो धर्म-कर्म गरेर भगवानलाई पैसा चढाएको तर आफूलाई पछ्याउँदै आउने माग्नेका हातमा अँजुली भरि पैसा देख्दा ऊ भगवानसँग निकै रिसायो ।
साभार: रचना द्वैमासिक,काठमाण्डौं
contact & feedback
bajgaikrishna@yahoo.com
————————————————————————————————————————————
