कथा-कुथुङ्ग्री



कृष्ण बजगाईंको प्रकाशोन्मुख दोस्रो लघुकथा संग्रहका केही लघुकथाहरु

UncategorizedSeptember 19, 2008 7:04 am

लघुकथा
कृष्ण बजगाईं
छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आफ्नो छापिएको छ कि भनेर धेरै मानिसहरू पढ्दथे ।

अर्का एकजना थिए कन्जुस लेखक । आफूलाई लेखनको मानक नै सम्झन्थे । आफ्नो लेखमा सकेसम्म सारै कम मानिसको नाम उल्लेख गर्दथे । आफूले लेखेमा मात्र नया देखि स्थापित लेखक, लेखकमा ठहरिन्छ भन्ने भ्रम पालेर बसेका थिए । कतै यस पटक आफ्नो तथा आफूले चिनेका नाम पो उल्लेख गरिदिए कि भनेर उनको लेख पनि पढ्थे मानिसहरू ।

यी विपरीत धु्रवका लेखक एक अर्कालाई लेखक नै ठान्दैन थिए । यिनीहरूको जुवारी बेलाबेलामा पढेर पाठकले टाउको दुखाउनु पर्दथ्यो । अचानक एक दिन भट्टी पसलको एउटै टेबलमा दुवैजनाले रक्सी पिएर बसेको देखियो । पाठक प्रतिक्रिया पठाएर नया रेकर्ड कायम राख्न लागेका एक पाठ पनि छेउकै टेबलमा थिए । उनलाई दुवै लेखकले आफ्नो फ्यान ठान्दथे । यिनीहरूको मित्रता देखेर उनी आश्चर्यचकित भए ।

त्यसको केही दिनपछि कन्जुस लेखकले आफ्नो लेखकहरूमा पटकपटक प्रसङ्ग मिलाएर भक्तिभाव प्रकट गर्दै छुल्याहा लेखकको नाम उल्लेख गर्न थाले । छुल्याहा लेखकले पनि कन्जुस लेखकलाई घोचपेच गर्न छाडे ।

आजकल पत्रिकामा लेखको स्तर खस्कियो भन्दै पाठक प्रतिक्रिया आउन थाल्यो । त्यसपछि सम्पादक चिन्तित बने ।
साभार: मधुपर्क

UncategorizedAugust 17, 2008 8:12 am

लघुकथा

कृष्ण बजगाईं

उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन ।
शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो ।
सुरक्षितसाथ जोगाएर राखेकि थिईन । आँखाले एक्स-रे गरेर हेर्यो सम्पूर्ण बनावटलाई । चुम्बन गर्यो अंग प्रत्यगंलाई आँखैले । अलिकति उत्तेजित भयो ऊ ।
उनको हिंडाईको चाल थाहा पाउन चाह्यो उसले । तालिम प्राप्त मोडेल झैं ऊ सुस्तरी हिंडी । उसले क्याट वाक् को मजा त्यहीं लियो रयाल काढ्यो ।
आज पनि नाटकको एक क्षेपण सकियो ।
बर्षौंदेखि यसरी नै त्यस युवतीलाई आफन्तकै अगाडि धेरैले नंग्याउँदै आए । कतै बिहे भै हाल्छ कि भन्ने आशामा यी सबै चुपचाप सहिरहेकि छे एक बुढीकन्या ।
साभारः रचना द्धैमासिक, काठमाण्डौ २०६५

UncategorizedJuly 19, 2008 9:46 pm

- कृष्ण बजगाईं

लघुकथा

प्रमुख समाचार
- केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो ।
- शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो ।
- धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण गरेर गृहमन्त्री राजधानी फिर्ता ।
- राजधानीको एक पाकेटमार प्रहीको फन्दामा ।
- राजधानीको एक होटलमा छापा मार्दा बेश्याबृत्ति कार्यमा संलग्न भएको आशंकामा एक जोडी युवायुवती पक्राउ ।
स्थानीय समाचार
- दुर्गम पहाडी जिल्लाको विकटपुर गाउँमा खाद्यान्नको अभावमा भोकमरीले केटाकेटी सहीत केही बृद्धबृद्धाहरुको मृत्यु ।
- सुदुर पहाडी जिल्लामा कापीँकिताव किन्न नसकेर धेरै बालबालिका शिक्षाबाट बन्चित ।
- मुसलधारे वर्षाबाट तराईका धेरै जिल्ला प्रभावित । केही गाउँ पुरै डुबानमा । मानिसहरु ज्यान जोगाउन छाना बुईंगल रुख आदिमा बसीरहेका ।
- तराईको गरिबपुर भन्ने ठाउँमा प्रहरी चौकी नजिकै सिंगै गाउँ डाकाद्धारा लुटपाट । घटनापछि प्रहरीद्धारा खोजपड्ताल जारी ।
- पश्चिम नेपालका यौन व्यावसाय गरेर जीविकोपार्जन गर्न बाध्य महिलाहरु सम्मानजनक रोजगारी दिन सरकारसंग माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ ।
साभार: शारदा मासिक २०६५

UncategorizedFebruary 17, 2008 8:06 pm


UncategorizedJanuary 24, 2008 10:08 pm


UncategorizedJuly 26, 2007 8:41 pm

लघुकथा

-कृष्ण बजगाईं

भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए ।
मन्त्रीजी “अति पोषणयुक्त खानाबाट हुने मोटोपन र त्यसको रोकथाम” विषयक विदेशमा हुने गोष्ठिमा सहभागी हुन तारतम्य मिलाउँदै हुनुहुन्थ्यो । जीवनमा पहिलो भ्रमण त्यो पनि पश्चिमी मुलुकमा हुन लागेको थियो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा भ्रमण वापत पाईने आकर्षक भत्ताको लोभ उहाँमा स्पष्ट देखिन्थ्यो । मन्त्री भएपछि स्वयं मोटोपनको शिकार हुनु भएकोले कतै यसको उपचार उतै पो भैहाल्छ कि भन्ने अर्को आशा पनि थियो उहाँमा ।
भ्रमणको दिन नजिकै जाँदा आवश्यक रकम आदिको व्यवस्था नभएकोमा मन्त्रीजी रिसले धुँवा हुनुभयो । सम्वन्धित कर्मचारीलाई बोलाई रकम निकाशा गर्न कडा निर्देशन दिनु भयो ।
गोष्ठी व्यापारिक कम्पनिले आयोजना गरेको सहभागीले सबै खर्च आफै बेहोर्नु पर्ने हाम्रो देशमा यो प्रमुख समस्याको रुपमा नदेखिएको र अहिलेको अवस्थामा मन्त्रालयमा भ्रमण सेमिनार शिर्षकको वजेट पनि सकिएकोले यो भ्रमणको व्यवस्था गर्न सम्भव नभएको कुरा कर्मचारीले निर्धक्कसँग राखे ।
भ्रमण शिर्षकमा रकम नभए “कुपोषण निवारण” कार्यक्रमबाट बजेट रकमान्तरण गरेर भ्रमणको व्यवस्था मिलाउन कडा आदेश जारी गर्नु भयो । त्यस पछि निरीह कर्मचारीले सो आदेश शिरोपर गरे ।
केही दिनपछि मन्त्रीजी विदेश भ्रमण सकेर स्वदेश फर्कनु भयो । व्यापारिक कम्पनीले मोटोपन रोकथाम गर्न तयार पारेको सेम्पलका आठ-दश कार्टुन औषधी लिएर सिधै आफ्नो निर्वाचन क्षेत्र पुग्नुभयो ।
गरिबी र भोकमरीले पिडीत दुर्गम क्षेत्रका आफ्ना मतदाता भेला पारी विदेश यात्राको वर्णन सुनाउन थाल्नुभयो । त्यहाँ मन्त्रीजीले अति पोषणयुक्त खानाबाट हुने मोटोपन संभाव्य खतरा र त्यसको रोकथाम बारेमा व्याख्या गर्दै हुनुहुन्थ्यो । जनता भने चुनावमा वाचा गरे अनुसारै मन्त्रीजीले राहातको पोको ल्याएछन् भनेर दंग परे । त्यहाँ उपस्थित जनता मन्त्रीजीको भाषणमा भन्दा कार्टुन तिरै नजर लगाई रहेका थिए ।
भाषण पछि औषधी बाँड्ने कार्यक्रम सुरु भयो । मन्त्रीजीले सारङ्गी जस्ता पेट भएका भोका-नाङ्गा आफ्ना मतदातालाई मात्रै त्यो औषधी बाँड्न थाल्नु भयो । त्यो देखेर विपक्षी दलका कार्यकर्ताहरु वितरणमा पक्षपात भो भन्दै नाराबाजी गर्नथाले ।
साभारः युगआस्था काठमाण्डौं २०६४

UncategorizedJuly 22, 2007 1:19 pm

लघुकथा

-कृष्ण बजगाईं

आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण अवस्था प्राचीन बहुमुल्य मूर्ति आदिको चोरी-चकारी चोरी गर्ने पापीहरुले सजाय नपाउनु शान्ति-सुरक्षाको अभाव जस्ता विषयमा गम्भिर छलफल गरी केही निर्णय गरे ।
- दान-दक्षिणा र भेटीको दर बढाउन भक्तजनसँग अनुरोध गर्ने ।
- मठ-मन्दिरको जिर्णोद्धारका लागि सरकारसँग अनुरोध गर्ने ।
-शान्ती सुरक्षा कायम गर्न तथा चोरी-चकारी रोक्न प्रहरी-प्रशासनसँग सहयोग माग्ने ।
-पापकर्म गर्ने अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिलाउन सरकारसँग अनुरोध गर्ने ।
-धर्मप्रति मानिसहरुमा आस्था जगाउन रेडियो टी।भी।तथा पत्र-पत्रिकामा प्रचार-प्रशार गर्ने ।
उक्त भेलाले समस्याको पहिचान गरी समाधानको बाटो निकालेको भन्दै दंग भए पुजारीहरु । त्यस भेलाको निष्कर्षबाट धेरैजना आशावादी देखिए ।
पत्रिकामा समाचारको रुपमा प्रकाशनार्थ आएको पुजारीहरुको बैठकको निर्णय सम्पादकले राम्ररी पढे । माथि उल्लेखित समस्या समाधानार्थ सहयोग याचना तथा कामनाका लागि कतै पनि भगवानको नाम उल्लेख गरिएको थिएन । त्यो निर्णय पढेर सम्पादक मरी-मरी हाँसे ।
साभारः स्वतन्त्र नेपाल

Uncategorized 9:14 am

लघुकथा

-कृष्ण बजगाईं

एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।
यो कुरा त्यस राज्यका राजाले थाहा पाए । जादुगरलाई आफ्नै दरवारमा बोलाएर उनको कला हेर्ने रुची जाग्यो । बोलेर मानिसहरुलाई लट्ठ पार्न सक्ने वाक्कला र वाक् चातुर्यता देखेर राजा छक्क परे । अझ एउटा जादुको छडीले आश्चर्यजनक काम गर्न सक्ने उनको कला प्रति राजा नतमस्तक भए ।
त्यसपछि आफ्ना प्रजाका सम्पूर्ण समस्या समाधान गर्न उनलाई मन्त्री बनाए । राजाको यस्तो गुन बापत उनले आफ्नो जादुको छडी राजाको पाउमा समर्पण गरे । त्यसलाई राजाले राजदण्डको रुपमा प्रयोग गरे ।
जादुगर मन्त्री हुँदैमा सम्पूर्ण समस्या समाधान हुने कुरै थिएन । जादुगरी त उनको कला मात्र थियो । जसका माध्यमले आफ्नो पेट पाल्दथे ।
जनताका समस्या यथावत रहे । बिभिन्न तह र तप्का जनताहरु आफ्नो मागहरु पुरा गरियोस भन्दै दिनहुँ बिरोध जुलुस तथा सभा गर्न थाले । जनताका यस्ता माग देखेर मन्त्री चिन्तित भए । अनि जनताका सम्पूर्ण समस्या समाधान गर्न उनले पुलिसलाई डण्डा दिएर पठाए ।
साभार ः शारदा मासिक काठमाण्डौं २०६४

UncategorizedJune 6, 2007 9:23 pm

लघुकथा

-कृष्ण बजगाईं

उनी आफ्नो पहिलो पुस्तकलाई एक समारोहबीच र्सार्वजनिक गराउन गइरहेका थिए । वर्षौदेखिको उनको पुस्तक प्रकाशन गर्ने त्रि्र इच्छालाई श्रीमतीले आफ्नै नाक, कानका गहना बेचेर पुरा गरिदिएकी थिइन् तर विमोचन समारोहमा आमन्त्रितहरुको उपस्थिति देखेर उनी बडो बेचैन बने ।
ट्याक्सी भाडा नदिएका कारण प्रमुख अतिथि नै कार्यक्रममा आइदिएनन् । अनि हतारहतारमा अलि पाकाखालका एक आमन्त्रितलाई प्रमुख अतिथि बनाइयो । कार्यक्रमको औपचारिकता पूरा भएपछि प्रमुख अतिथिले आकर्ष जिल्ला खोलेर पुस्तक लोकापण गराए । यस्तो दृश्य देखेर लेखकका खुसीका आँसु झरे । यति खुसी त उनी प्रथम सन्तान जन्मदा पनि भएका थिएनन् रे । आफू छेउँमै बसेकालाई खुसुक्क सुनाइहाले ।
टिप्पणीकर्ताले पुस्तकका बारेमा बोल्न सुरु गरे । “पुस्तकको गाता पातलो भएको, कागज कमगुणस्तरको, छपाई राम्रो नभएको, आवरणकला पुस्तकको नामानुसार नभएको” भन्दै लेखकको झाँको झारे । पारिश्रमिक नपाएको झोँक टिप्पणीकर्ताले लेखकमाथि पोखेको कुरा प्रायः सबैले बुझिहाले । प्रमुख अतिथिको पालो आयो । “एउटा पुस्तक निकाल्दैमा साहित्यकार भइँदैन” भनेर लेखकलाई ख्याँसे ।
अब विमोचित पुस्तक सवैका हातमा पुगिसकेको थियो । खासखुस चल्दाचल्दै कार्यक्रम सकियो । “हाम्रै घरपरिवारका कुरा लेखेर लेखक बन्ने” भन्दै आमन्त्रितहरूले नै त्यहीँ लेखकको कठालो समाते । मलिन अनुहार लिएर लेखक घर फर्के । केही दिनसम्म उनले हरेक अखवारका पाना पल्टाए । कतै आफ्नो पुस्तकका बारेमा समाचार, टिप्पणी वा समालोचना छापिएको छ कि भनेर । अँह त्यस्तो केही पाएनन् । त्यसबाट उनी झन् निराश भए । यसैबीच अचानक एकदिन लेखकले आत्महत्या गरे ।
आजकल उनकी श्रीमती प्रत्येकदिन अखवारका पाना पल्टाउँछिन् कतै समवेदना सन्देश छापियो कि भनेर ।
साभारः मधुपर्क, काठमाण्डौं

UncategorizedMarch 7, 2007 12:47 pm

लघुकथा

-कृष्ण बजगाईं

कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्ष ैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।
उसो त उहाँलाई भुइँतलाको कोठामा सर्न मन नलागेको पनि होइन । तल्लो कोठामा आफू र माथिल्लो कोठामा आफूभन्दा साना तहका कर्मचारी सार्ने विचार गर्नुभएको थियो एक पटक । आफ्नै शीरमाथिको कोठामा आफू भन्दा साना तहका कर्मचारीहरु कसरी राख्नु ? फेरी दिनभर आफ्नै टाउको माथि ति कर्मचारीहरुको जुत्ताको टक् टक् सुन्नु पर्ला भनेर दिक्क हुनुभयो । जे भए पनि सरौं न त भन्दा आफू अघिका हाकिमहरुले यसो नगरेकोले यस्तो निर्णय लिन सकिहाल्नु भएन । आफूलाई यो अवस्थामा पाउँदा उहाँ निकै चिन्तित हुनभयो ।
हाकिमको चिन्तित मुद्रा देखेर कमाउ धन्दामा सिपालु केही कर्मचारीहरु एका-एक खुशी भए । उनीहरुले कार्यालयलाई समयानुकुल आधुनिकिकरण गर्दै लैजानु पर्ने र त्यसबाट प्राप्त हुने कमिशन लगायतका अन्य फाईदाका कुराहरु हाकिमलाई बुझाए । हाकिमलाई त्यो कुरा साह्रै चित्त बुझ्यो ।
त्यसपछि कार्यालयलाई समयानुकुल आधुनिकिकरण गर्ने नाममा प्रथम चरणमा कार्यालयमा लिफ्ट ( स्वचालित भर्याङ ) जडान गरियो । लिफ्टको प्रयोगले त्यस कार्यालयका कर्मचारीहरुमा परिवर्तन देखापर्न थाल्यो । घुमाउरो तथा साँघुरो त्यो झन्झटिलो भर्याङ चढ्नु भन्दा लिफ्ट चढेर सिधै माथि हाकिमकहाँ छिन्- छिनमा पुग्नु छिटो छरीतो र आनन्ददायी लाग्न थाल्यो उनीहरुलाई ।
त्यसपछि अधिकांश कर्मचारीहरु लिफ्ट प्रयोग गर्नमा होडबाजी गर्न थाले । अधिकांश समय उनीहरु माथिल्लो तलामा रहेको हाकिमकै कोठा र ढोका वरपर बारम्बार देखिन्थे । केही समयपछि लिफ्ट प्रयोग गर्न सिपालु कर्मचारीहरुमा झन् ठूल-ठूला परिवर्तन देखिन थाल्यो । उनीहरुको पद, पैसा र पहुँच एकाएक बढ्न थाल्यो । तर लिफ्ट चढ्न डराउने तथा परम्परागत भर्याङ प्रयोग गर्ने कर्मचारीहरु चाहीँ उही पद र अवस्थामा थिए । आफ्नो यो अवस्था देखेर उनीहरु निराश भए । त्यसपछि उनीहरु हाकिमका सामु गएर लिफ्टको बिरोध गरे । “समयानुकुल परिवर्तन हुन नसक्ने बज्र स्वाँठ” भन्दै हाकिमले उनीहरुलाई बेस्सरी झपारे । बिचराहरु लुखुर-लुखुर पुनः उही पुरानो भर्याङ हुँदै तल उत्रे ।
साभारः मधुपर्क, काठमाण्डौं

प्रकाशित यी लघुकथाहरु अन्यत्र पुनः प्रकाशन गर्न लेखकको अनुमति लिनु पर्दैन । -लेखक bajgaikrishna@yahoo.com